राजनीति

राजावादीको दबाब रणनीति : भोलि नारायणहिटी अगाडि प्रदर्शन गर्ने तयारी

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु भएको संयुक्त जनआन्दोलन राजधानीका संवेदनशील स्थानतर्फ सर्दैछ। आन्दोलनको तेस्रो दिन अर्थात् भोलि राजावादीहरूले नारायणहिटी दरबारको अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, “शान्तिपूर्ण ढंगले दबाब दिने” उद्देश्यले नारायणहिटी क्षेत्रको चयन गरिएको हो। उनका अनुसार, अहिलेको लागि दरबारभित्र पस्ने योजना छैन, तर आन्दोलनलाई वेवास्ता गरिए कडा कदम चाल्न सक्ने चेतावनी पनि दिए।

संयुक्त जनआन्दोलनको पहिलो दिन रत्नपार्क केन्द्रित थियो भने दोस्रो दिन माइतीघरमा प्रदर्शन गरिएको थियो। अब तेस्रो दिनको प्रदर्शन अझै बढी संवेदनशील स्थानमा सारिएको छ। प्रवक्ता श्रेष्ठले हिंसा भड्काउने उद्देश्य नभएको स्पष्ट पार्दै भने, “हाम्रो रणनीति अहिलेसम्म शान्तिपूर्ण नै हो, तर सरकार उदासीन रहिरहे अवस्था जटिल बन्न सक्छ।”

राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलन क्रमशः जनसहभागिता र दबाबमूलक कार्यनीतिमा जाँदै गरेको संकेत देखिएको छ। नारायणहिटीको अगाडिको प्रदर्शन त्यसैको अर्को चरण हुन सक्छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *