देश

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन्। बैठकमा उनले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण प्रस्तुत गरे।

अर्थमन्त्री पौडेलले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए।

चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक आज बेलुका ५:१५ मा बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *