काठमाडौं । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेले १५ जेठका लागि आयोजना गरेको विशेष सभालाई व्यवस्थित गर्न स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको छ। बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित प्रशिक्षणमा भोलिको कार्यक्रममा खटिने स्वयंसेवकहरूले व्यवस्थापनका विविध पक्षमा जानकारी पाए।
एमालेले भृकुटीमण्डपमा गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने उद्देश्यले ठूलो सभा आयोजना गर्दैछ। पार्टीले भनेको छ, “यो कार्यक्रम कुनै विरोध होइन, जनताको उपलब्धिको खुसी साट्ने अवसर हो।”
एमाले महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसको महत्त्वलाई स्मरण गराउँदै सरकारले नै विशेष कार्यक्रम गरेर मनाउनु पर्ने बताएका छन्। “१५ जेठ नेपाली जनता सार्वभौम भएको दिन हो, त्यसैले यो दिनलाई गौरवका साथ मनाउनु आवश्यक छ,” पोखरेलले पत्रकार सम्मेलनमा भने।
राजावादी समूहले पनि भोलिका लागि काठमाडौंमा कार्यक्रम गर्ने तयारी गरे पनि सुरक्षा निकायसँग अनुमति नलिएको बताइएको छ। सुरक्षाका लागि प्रशासन सतर्क बनेको छ। एमालेको सभामा अनुशासन र व्यवस्थापन कायम राख्न प्रशिक्षित स्वयंसेवक खटिने तयारीमा छन्। पार्टीका अनुसार कार्यक्रम शान्तिपूर्ण र उत्सवमय हुने छ।




