काठमाडौँ। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले विकास र समृद्धिका आकांक्षा पूरा गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने धारणा राखेका छन्। सांसदहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनका लागि विभिन्न ऐन नियमको निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनसँगै नागरिकका मौलिक हकअधिकारको प्रत्याभूति र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। त्यस्तै, भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग पनि सांसदहरूले गरेका छन्।
भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाको माग
राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा भएको भ्रष्टाचार प्रकरणमा गृहमन्त्रीको सचिवालय जोडिएको भन्ने विषयमा छानबिनको माग गरे। मिलेमतोमा मानव तस्करी भएको र सो घटनासँग जोडिएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई गिरफ्तार गर्नु एक दिन अघिमात्र गृह मन्त्रालयले सरुवा गर्नुले पनि शङ्का बढेको सुवेदीको भनाइ छ। यो प्रकरणमा कार्यालयका कर्मचारी मात्र नभई हवाई सेवा प्रदायक कम्पनीका कर्मचारी, म्यानपावर व्यवसायी, ट्राभल एजेन्सीलगायत जोडिएको विषयमा गम्भीर छानबिनको माग सांसद सुवेदीले गरे।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका सांसद श्रीकृष्णप्रसाद अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउँदै अहिले फेरि भिजिट भिसाको आवरणमा मानव बेचबिखन र भ्रष्टाचार भएको विषय बाहिरिनु दुःखद् रहेको बताए। यस प्रकरणमा गृहमन्त्रीको नाम पनि मुछिएका कारण राजीनामा गरेर छानबिनमा सघाउन उनले आग्रह गरे।
गणतन्त्र, मौलिक हक र स्थानीय उत्पादनमा जोड
नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले गणतन्त्र स्थापनाको लामो समय बितिसक्दा पनि जनताका आशा र आकांक्षा पूरा हुन नसकेको बताइन्। स्थानीय तहलाई बलियो बनाउन सक्यो भने मात्र गणतन्त्र बलियो हुने धारणा उनले राखिन्। विद्यमान संविधान र शासकीय व्यवस्थाले प्रत्याभूत गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको अनुभूति नागरिकमा हुनुपर्ने सांसद पन्तको भनाइ छ। त्यस्तै, नेपालको जनसङ्ख्याको ठूलो हिस्सा कृषि पेसामा रहेको भए पनि यस क्षेत्रलाई प्राथमिकतामा राख्न नसकिएको उनले बताइन्। किसानलक्षित कार्यक्रमलाई प्रवद्र्धन गर्न पर्याप्त बजेटको माग पनि उनले गरिन्। मुलुकभित्र रोजगारी सिर्जना गर्ने र युवा विदेशिने क्रम रोक्नका लागि पहल गरिनुपर्ने पनि उनको भनाइ छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले जेठ १५ गते गणतन्त्र दिवस मनाइरहँदा जनताले के अनुभूत गरिरहेका छन् भनेर बुझ्न अति आवश्यक रहेको बताइन्। त्यस्तै उनले गणतन्त्रलाई संस्थागत गर्न कानुन निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। आगामी आर्थिक वर्षको बजेट ल्याउँदा महिला, पिछडिएको क्षेत्र, विपन्नलगायत क्षेत्रलाई केन्द्रमा राखिनुपर्ने उनको धारणा छ। जनप्रतिनिधिसँगको समन्वय तथा सहकार्यमा बजेट बन्नुपर्नेमा त्यसो हुन नसकेको सांसद गैरेको भनाइ छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नेपालको ठूलो जनसङ्ख्या कृषि पेसामा आबद्ध रहे पनि यसबाट उल्लेखित लाभ लिन नसकिएको बताए। विदेशबाट सस्तोमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री हुन नसकेको र किसानले आफ्नो उत्पादनको भुक्तानी पाउन नसकेको विषय पनि उनले संसद्मा उठाए। त्यस्तै, निलगाई, हात्ती, बादर, बँदेलजस्ता जनावरको आतङ्कले किसान समस्यामा रहेको सांसद सिंहले बताए। धान रोप्ने बेला किसानले मल अभावको समस्या भोग्नुपरेको पनि उनको भनाइ छ।
नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकताको सन्देश दिनुपर्ने बताइन्। यही बिहीबार सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेटले सबैलाई समेट्न सक्ने विश्वास पनि उनले व्यक्त गरिन्। त्यस्तै, ऐन कानुन कार्यान्वयन निर्माण र विकास पूर्वाधार विकासमा उल्लेख्य प्रगति देखिए पनि नागरिकहरू खुसी हुन नसकेको सांसद सापकोटाको भनाइ छ। सेवा प्रवाह सहज बनाउने, आन्तरिक रोजगारी सिर्जना गरी विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने, आधारभूत स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच पुर्याउनेजस्ता काम गर्न सके नागरिकका आकांक्षा पनि पूर्ति हुने उनको भनाइ छ। शिक्षा ऐन, निजामती सेवा ऐन, वन ऐन, सार्वजनिक खरिद ऐनजस्ता कानुन चाँडो संशोधन गरिनुपर्ने माग पनि सांसद सापकोटाले राखिन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुमित्रा बिसीले विभिन्न ऐन कानुन समयमा बन्न नसक्दा परेको अप्ठ्यारो बताइन्। कर्णाली क्षेत्रको विकासका लागि त्यहाँको प्राकृतिक स्रोतको उपयोगको प्रबन्ध गर्न पनि उनले माग गरिन्। त्यहाँ रहेका प्राकृतिक स्रोतको उपयोग गर्नका लागि प्रदेश सरकारलाई विशेष अधिकार उपलब्ध गराउनुपर्ने धारणा पनि उनले राखिन्।




