काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले साहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताएका छन् ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरेका हुन् ।
उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गरे ।
उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आफूहरू तयार रहेको बताए । उनले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । उनले गल्ती भएका कुराहरूमा आफूहरु सुध्रिन तयार रहेकोसमेत दाबी गरे ।
उनले भने ‘मध्यपूर्वको भ्रमणका क्रममा आफूले परराष्ट्र, श्रम मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग र सम्बन्धित मुलुकका मन्त्रालयहरूमा तत्काल परिचालन गरी दूतावासहरूमा पैसा समेत पठाएर सुधारका कामहरु गरिएको थियो । वर्तमान परराष्ट्रमन्त्रीले पनि विदेशमा कार्यरत नेपालीहरूको सहजताका लागि काम गर्नुभएको छ । संसारमा छरिएर रहेका नेपाली निराश छैनन् । नेपाल बनाउनुपर्छ भन्ने मन मुटुमा बोकेर विदेशमा रहेका नेपाली लागि परेका छन् ।
विदेश तथा स्वदेशमा भएका युवाहरूमा रहेको निराशाको समाधानका लागि आफूहरू काम गर्न तयार छौं । यसमा नेपाली काँग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भुमिका निर्वाह गर्न पछि पर्दैन । काँग्रेसले स्थायित्व र संविधान निर्माणका विषयमा पनि गम्भीरतापूर्वक काम गरिरहेको छ । साथै, अहिले संविधान संशोधन गरेरै भएपनि सबै दललाई मिलाएर लिएर जाने र संसारका नेपालीलाई समेत एकसाथ लिएर हिँड्ने जिम्मेवारीपनि कांग्रेसले नै लिन्छ । त्यसैले, प्रमुख प्रतिपक्षी दलहरूले अफवाह फैलाउने काम गरिरहेकोले त्यसलाई समेत चिर्न काँग्रेसले भुमिका खेल्नेछ ।’
उनले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताए ।




