
काठमाडौँ। सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन वृद्धि गरी मुलुकको अर्थतन्त्र सुधार्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जबराले देशको राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको र युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्सले मात्र अर्थतन्त्र धानिएको बताए। यस अवस्थामा सुधार ल्याउन विद्युत् उत्पादन बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो।
उनले भने, “उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ। विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ। हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ। यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ।”
त्यसैगरी, सांसद मेटमणि चौधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकहरूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरे। लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उनीहरूले जोड दिए। सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिन आग्रह गरे। सांसद प्रेम सुवालले शिक्षकहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताउँदै सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै विचार गर्नुपर्ने धारणा राखे। उनले सहकारी पीडितका समस्या समाधान गर्न पनि माग गरे।