
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको गिरफ्तारीमाथि सर्वोच्च अदालतले प्रश्न उठाउँदै कारण देखाउन आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको स्पष्ट कारण पेश गर्न ललितपुर जिल्ला प्रहरी परिसरलाई आदेश दिएको हो। यादवका तर्फबाट उनकी श्रीमती ललिताकुमारी यादवले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
गत वैशाख ७ गते सप्तरीको राजविराजबाट प्रहरीले यादवलाई पक्राउ गरेको थियो। ललितपुर प्रहरीले उनलाई ठगी र आपराधिक विश्वासघातको अभियोगमा अनुसन्धानको लागि पक्राउ गरेको बताएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको अनुरोधमा यादवलाई नियन्त्रणमा लिइएको र हाल म्याद थप गरी हिरासतमा राखिएको जनाइएको छ।
अब सर्वोच्च अदालतले प्रहरीलाई यादवलाई थुनामा राख्नुपर्ने कारणहरू पेश गर्न भनेपछि आगामी सुनुवाइमा यसबारे थप निर्णय आउनेछ।