
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन्।
सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा उनले आपत्ति जनाएका हुन् ।प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उनको भनाइ थियो ।
सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसकेको टिप्पणी गरे । उनले नेपाल भूकम्पको उच्च जोखिमका रहेको उल्लेख गर्दै सम्भावित विपत्को पूर्वतयारीमा यथेष्ट ध्यान दिएर काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
साथै रुकुपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहतको व्यवस्था गर्दै पुन:निर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।
भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकप्रति लक्षित गरी भएको हिंसात्मक आक्रमणको सांसद पुनले भर्त्सना गरे । उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो संसदबाट पारित गर्न माग गरे । संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित लामो समयदेखि रोकिएका विधेयक पारित गर्नुपर्नेमा सांसद पुनले जोड दिएका छन् ।