काठमाडौं । हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले उद्घाटन गरेको सैलुनमा एसी र इन्भर्टर दिने भनिएको विवादले सामाजिक सञ्जालमा चर्चा पाएपछि उपमहानगरले आधिकारिक धारणा सार्वजनिक गर्दै खबरलाई तथ्यहीन र अतिरञ्जित भने।
‘द नाईनटीन सैलुन’ को उद्घाटनपछि मेयर लामाले गर्मीका कारण व्यवसायमा समस्या देखिएकाले एसी दिने घोषणा गरेपछि सञ्चालकले निवेदन दिएर तोक लगाएको पत्र सार्वजनिक भएको थियो। यसले उपमहानगरको बजेट निजि व्यवसायमा खर्च गरिँदैछ भन्ने आशंका जन्माएको थियो।
तर उपमहानगरले विज्ञप्ति जारी गर्दै “नगरप्रमुखबाट कुनै व्यक्तिगत निर्देशन दिइएको छैन” भन्दै प्राप्त निवेदनलाई मात्र प्रक्रिया अनुसार दर्ता गरिएको दाबी गरेको छ। साथै, “कुनै पनि बजेट विनियोजन गरिएको छैन,” भन्ने प्रष्टिकरण दिएको छ।
प्रवक्ता सविन न्यौपानेका अनुसार, उपमहानगरले युवाको उद्यमशीलता प्रोत्साहन गर्ने नीति लिएको भए पनि कानुनी प्रक्रिया बाहिर गएर व्यक्तिगत लाभका लागि रकम छुट्याउने काम नभएको दाबी गरिएको छ। महानगरपालिकाले संचारमाध्यममा आएका समाचारहरु झुट्टा भन्दै विज्ञप्ती जारी गरेपनि घटना सत्य हो ।




