राजनीति

आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा प्रधानमन्त्रीलाई सुझाव पेस

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि विषयगत सुझावहरू प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन्।

महासचिव पोखरेलले यसअघि प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि पनि यस्तै सुझाव दिइएको तर अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको स्मरण गराउँदै यसपटक ताजगीकरणसहित पुनः सुझावपत्र बुझाइएको बताए।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझावहरू पनि कार्यान्वयनमा आउन बाँकी रहेकाले त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *