चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई जनताका समस्या समाधानतर्फ केन्द्रित हुन अनुरोध गरेका छन्।
आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले शिक्षक, डाक्टर, नर्स, लघुवित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरूसमेत आन्दोलनमा रहेको उल्लेख गर्दै जनताका यी जल्दाबल्दा समस्याहरूको समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरूलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताए। उनले जनता र राष्ट्रको आवश्यकताअनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प अपरिहार्य रहेको बताए।




