राजनीति

सिटौलाको कडा प्रश्न: आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिने आँट छ ज्ञानेन्द्रमा?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सिटौलाले यस्तो चुनौति दिएका हुन् । व्यवस्था परिवर्तनका लागि उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै पूर्व राजाको भलाई हुने सिटौलाको भनाई छ ।

सिटौलाले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीति मार्फत चुनाव लड्न आग्रह समेत गरे । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो हुने उनको भनाइ छ । सिटौलाले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै पूर्वराजा लक्षित प्रश्न समेत गरे ।

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *