काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपाललाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न सकिने स्पष्ट विचार व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै वाग्लेले सरकारले स्पष्ट र प्रभावकारी विद्यार्थी भिसा नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, यदि राज्य शिक्षामा गम्भीर, जवाफदेही र योजनाबद्ध रूपमा लागेमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गन्तव्य बनाउने सम्भावना प्रष्ट छ।
“विद्यार्थी विदेश त गएका छन्,” उनले भने, “तर उनीहरूलाई अध्ययनपछि स्वदेश फर्किने वातावरण बनाउनु जरुरी छ। त्यो सम्भव भयो भने, नेपाललाई शैक्षिक हबको रूपमा अगाडि बढाउन सकिन्छ।”
सांसद वाग्लेले शिक्षा क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने, नीति निर्माणमा दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको र युवालाई लक्षित कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव पनि दिए। उनको भनाइमा शिक्षामा लगानी गर्नु भनेको राष्ट्रको दीर्घकालीन समृद्धिमा लगानी गर्नु हो।




