काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा जवाफ दिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रधानमन्त्रीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारण स्पष्ट पार्ने भएका हुन् ।
एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार, सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आइतबार गरेको छलफलमा प्रधानमन्त्रीले संसद्मा औपचारिक जवाफ दिने जानकारी गराएका थिए ।
घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडान थियो । उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ । विपक्षी दलले कुलमानको हटाइप्रति असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गर्दै आएकाले प्रधानमन्त्रीको जवाफलाई विशेष चासोका साथ हेरिएको छ ।




