राजनीति

एमाले सचिवालय बैठक : संसदको अवरोध हटाउन आग्रह, राजावादी हिंसाको निन्दा

 

काठमाडौँ। नेकपा (एमाले) ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ।

यहाँ आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरुप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उनले बताए।

एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई ‘युथ समिट’का रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिए।

यस्तै बैठकले राजावादीका नाममा काठमाडौँको तीनकुने, कोटेश्वर, जडीबुटीलगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।

एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *