राजनीति

प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा संसदमा जवाफ दिने

काठमाडौं । संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

शुक्रवार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष दल, अन्य प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् ।

उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् । सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो ।

तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आईतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए । बर्ताैलाले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताए ।

बर्ताैलाले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भएपनि प्रतिपक्ष दलहरुको अवरोधका कारण अहिलेसम्म अड्किएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *