जलश्रोत/उर्जा

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको वन क्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया सुरु

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वन क्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ।

आयोजनाले भोगचलन गर्ने वन क्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो। सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको उनले बताए।

उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वन क्षेत्र प्रभावित हुनेछ। प्रमुख भण्डारीले भने, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभर्ना सम्बन्धि जग्गाको टुङ्गो लगाउने छ।”

वन मन्त्रालयसँगको समस्याले विद्युत् प्रसारण लाइनको निर्माण कार्य रोकिएको र रुख नभएको क्षेत्रमा निर्वाध रूपमा काम भइरहेको प्रमुख भण्डारीले बताए। अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि बजेट सुनिश्चित भएका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ।

आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो। रुख कटानका विषयमा मन्त्रिपरिषद्बाट स्वीकृति पाए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो। “कूल ९४ टावरमध्ये ६९ वटा ठडाइएको छ”, प्रमुख भण्डारीले भने, “एघार टावरको सबै काम सम्पन्न भएको छ। १४ वटाको पूरै काम गर्न बाँकी छ।”

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नआउँदा काम प्रभावित भएको आयोजना प्रमुख भण्डारीले बताए। तनहुँ खण्डमा रहेका सामुदायिक वनसँग आयोजनाले समन्वय गरी काम गरेका कारण सहज बनेको छ। चितवन खण्डमा ठूला सालका रुख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेकाले कार्य प्रभावित भएको प्रमुख भण्डारीले बताए।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *