
काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लगाएको आरोपप्रति युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसीको आरोपको खण्डन गर्दै मन्त्रालय र राखेपले नेपालको कानून र अदालतको निर्णय नमानेको जनाए।
मन्त्रालय र राखेपले चैत १ गते एनओसीले केही खेल सङ्घका पदाधिकारीहरूलाई संलग्न गराई पत्रकार सम्मेलन आयोजना गरेको प्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
सरकारले खेल क्षेत्रलाई मर्यादित बनाउन र राष्ट्रको गरिमा उच्च राख्ने काम गरिरहेको भन्दै मन्त्री चौधरीले मन्त्रालय र राखेपप्रति लगाइएको आरोप निराधार भएको बताए। मन्त्रालय र राखेपले विज्ञप्तिसमेत जारी गरेको छ।
गत शुक्रबार एनओसीले पत्रकार सम्मेलन गर्दै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले आफूलाई कुवेत पुगेपछि डिपोर्ट गर्न सूचना पठाएको र सरकारले नागरिकको संवैधानिक अधिकार कुण्ठित पार्न खोजेको आरोप लगाएका थिए।
खेलकुद मन्त्रालय र राखेपले गलत सूचनामा आधारित भएर कुनै धारणा नबनाउन आग्रह गरेको छ।