धनगढी। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहोल नभएको र राजतन्त्रबारे अहिले भइरहेका चर्चा हल्ला मात्र भएको बताए। “राजतन्त्र फर्किने कुनै माहोल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हो,” देउवाले भने।
उनले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै असमझदारी र समस्या नरहेको उल्लेख गर्दै सरकार सहज ढंगले अघि बढिरहेको बताए। पत्रकारहरूको जिज्ञासामा उनले वर्तमान सत्ता गठबन्धन आम निर्वाचन २०८४ सम्म कायम रहने बताए। सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि स्पष्ट पारे।
यसैबीच, सभापति देउवाले धनगढीमा नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ।




