काठमाडौं । मधेश केन्द्रित आठ दलको वैठक आज (सोमबार) पनि बस्दैछ । आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका मधेश केन्द्रित नेताहरुको संयुक्त बैठक दिउँसो १ बजे नागरिक उन्मिुक्ति पार्टी (नाउपा) को संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल हुने सो पार्टीका नेताहरुले बताएका छन् । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाका अनुसार समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरुलाई आज बैठकमा बोलाइएको हो ।
बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ । यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह र जनता प्रगतिशील पार्टीबाट शिवजी यादव पनि बैठकमा सहभागी हुँदैछन् ।




