काठमाडौं । आगामी मंशिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा ४ गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरुले मात्र उम्मेदावरी दिन पाउन भएका छन् । दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेदवारी दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।
उक्त गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उम्मेदवार बन्न पाउने आयोगले जनाएको छ । उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेदवारी हुने निर्णय भएको बताए । महिला मात्रै उम्मेदवार बन्न पाउने बाहेक अरु तीन स्थानीय तहको प्रमुखरउपप्रमुखमा पनि निर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुख, दैलेखको महाबु गाउँपालिकाको प्रमुख पदमा पनि निर्वाचन हुँदैछ ।
तर यसअघि नै महिला निर्वाचित भएकाले ती स्थानीय तहको रिक्त पदमा बन्देजात्मक व्यवस्था लागू हुने छैन । स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७९४० मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिंदा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गर्न खोजेको हो ।




