राजनीति

कांग्रेस संस्थापक नेता सुवर्ण शम्शेरको सम्झना

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले राजनीतिक पार्टीका दर्शन र विचार सही भएर मात्र नभई नेतृत्व पनि सही हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरको स्मृति दिवस तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उनहरुको राजनीतिक योगदान, सङ्घर्षमय जीवन, अभूतपूर्व र अतुलनीय योगदान तथा आजको सान्दर्भिकता विषयमा आज शनिबार पार्टीको जिल्ला कार्यालय ललितपुरमा आयोजित विचार गोष्ठीमा उनले नेतृत्व सही भएमात्रै देशको विकास हुनसक्ने भएकाले सही र सिर्जनशील नेतृत्वमा ध्यान दिनुपर्ने बताए ।

“बिपी र गणेशमानलाई पढ्दा राजनीति गर्न मन लाग्छ, तर जनप्रतिनिधि हुन मन लाग्दैन, उनहरुमा त्यागको भावनाबाट राजनीतिक प्रणाली परिवर्तन गर्नसक्ने ताकत थियो, नेतृत्वमा रहेका एकार्कामा विश्वास थियो, सुवर्ण शम्शेरले तयार गरिदिएको अर्थतन्त्रकै आधारमा रहेर अहिले देश अगाडि बढिरहेको छ, आधार भएमात्रै सेवा प्रवाह गर्न सकिन्छ, राजनीति भनेको देश बनाउन हो”, उनले भने ।

उनले सुवर्ण शम्शेरले विसं २०१६ मा बजेट ल्याउँदा रोपवे, सडक र पूर्वपश्चिमको सडकको खाका तयार गरेको स्मरण गरे । सभापति जीतेन्द्रकुमार श्रेष्ठले गणेशमानले निरंकुशता हटाउँदै प्रजातान्त्रिक आन्दोलन सफल पार्नका लागि वडाहाकिमसमेत रहेका आफ्ना पिताको आलिसान महल छाडेर डेरामा बस्नुभएको स्मरण गरे ।

नेपाल महिला सङ्घ ललितपुरका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका पूर्वउपप्रमुख गीता सत्यालले सुवर्ण शम्शेर र गणेशमानको विचारलाई हामीले भुलेको हो कि भन्ने भान आमजनमानसमा परिरहेको बताइन् । कार्यक्रममा कांग्रेस ललितपुर क्षेत्र नं ३(२) का सभापति सुरेन्द्र डङ्गोलले गणेशमान र सुवर्ण शम्शेरको योगदान तथा त्यागलाई हेक्का राख्दै जनताको अपेक्षाअनुरुप विकास निर्माणका गतिविधिलाई प्रभावकारी बनाउन, जनतामा छाएको निराश हटाउन निरन्तर क्रियाशील भएर लाग्ने धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *