राजनीति

सरकारले महशुस गरेको खण्डमा मिनेटभरमा दल विभाजनसम्बन्धी अध्यादेश आउँछः नेता रिजाल

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन गत असार १७ गते एमाले–कांग्रेसबीच भएको सहमतिअनुसार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनलाई केन्द्रमा राखेर यो सरकार अगाडि बढिरहेको बताएका हुन् । उनले माओवादीसँग संविधान संशोधनको विषयमा सहमति नभएको खण्डमा अगामी राष्ट्रिय सभाको निर्वाचनपछि भएपनि दुवै सदनमा दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गरिने उनको दाबी छ ।

‘एमाले र कांग्रेसबीच भएको सहमतिको सैद्धान्तिक आधार अहिले पनि कायम छ । राजनीतिक स्थायित्व र आर्थिक विकासको एजेण्डालाई केन्द्रमा राखेर दुईवटा पार्टीले जुन ढंगलको सहमति गरेका थिए, त्यो मार्गमा सरकार दृढतापूर्वक अगाडि बढेको छ । संविधान संशोधनलाई हामीले केन्द्रमा राखेका छौं । हामीले प्रमुख प्रतिपक्षी दललगायतका दलहरुसँग पनि यस विषयमा सहमति चाहेका छौं ।’ नेता रिजालले भने, ‘यदि माओवादी केन्द्रसित सहमति भयो भने हामी छिट्टै संविधान संशोधनको प्रकृया अगाडि बढाउँछौं । यदि सहमति भएन भने हामीले अर्को डेढ वर्षजति कुर्नुपर्ने हुन्छ । जहाँ राष्ट्रिय सभाको गणितलाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुवै सदनबाट दुई तिहाई बनाएर हामी संविधान संशोधनमा जान्छौं ।’

साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्याउन टीआरसी ऐनलगायतका काम वर्तमान सरकारको महत्वपूर्ण उपलब्धी रहेको उनले बताए । वर्तमान सरकारको नेतृत्वमा पुँजीगत खर्चमा बृद्धि भएको, शेयर बजार चलायमान भएको, विदेशी लगानीको प्रतिवद्धता बढिरहेको, निजी क्षेत्रमा विश्वास बढ्दै गएको नेता रिजालले बताए । सरकारले वैदेशिक सम्बन्धमा पनि नेपालको सर्वोपरी हितको पक्षमा काम गरिरहेको उनको दाबी छ ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएका केही व्यक्तिले उन्मुक्ति पाउन नहुने उनले बताए । कानुनले आफ्नो बाटो लिनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । नेता रिजालले एमाले सहकारी ठगीमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा नरहेको बताए । ‘सहकारी ठगीसँग जोडिएको कोही मान्छे पक्राउ पर्ने, कोही मान्छे पक्राउ नपर्ने हुँदैन । कानुनले आफ्नो बाटो लेओस् । जो–जो साथीहरुको बारेमा यहाँ नामै लिएर प्रश्न उठेको छ, मलाई थाहा छैन, उहाँहरुविरुद्ध उजुरी छ कि छैन ? केही पीडित हुनुहुन्छ भने उजुरी गर्नुपर्यो । एमाले कुनै पनि हिसाबमा सहकारी पीडितहरुको पक्षलाई कमजोर बनाउने, सहकारी ठगीमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा छैन,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले पनि उच्चस्तरको समझदारी रहेको उनको दाबी छ । नेता रिजालले देउवा–ओलीबीच सम्बन्ध चिसिएको भनेर भइरहेका हल्लाहरु सबै अफवाह रहेको बताए । साथै, सरकारले अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुपर्ने महुशस नगरेको उनले बताए । सरकारले महशुस गरेको दिन एक मिनेटमा अध्यादे आउने उनको चेतावनी छ ।

‘सत्तारुढ दलहरुको बीचमा जे–जे विषयमा सहमति हुन्छ, तिनै विषयमा हामी अगाडि बढ्छौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा उच्चस्तरको समझदारी छ ।’ नेता रिजालले, ‘उहाँहरुको समझदारीबाहेक प्रधानमन्त्रीले एउटा विषय अगाडि बढाउन खोज्ने, कांग्रेसले रोक्ने यो सबै अफवाह हुन् । अध्यादेशको बारेमा सत्तारुढ गठबन्धनमा कुनै पनि विमति छैन । आवश्यक भयो र सत्तारुढ गठबन्धनलाई महसुश भयो भने एक मिनेटमा अध्यादेश आउँछ, त्यसमा कुनै समस्या छैन । तर, अहिले त्यो हामीले महसुश गरेका छैनौं ।’

त्यस्तै, नेता रिजालले एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा विवाद गर्नुको अर्थ नरहेको बताए । कुनै व्यवसायीले विना स्वार्थ दिएको दान, उपहार स्वीकार गर्ने एमालेको नीति रहेको बताउँदै उनले सोही नीतिअनुरुप जग्गा लिइएको बताए । जग्गा लिएको आधारमा मिनबहादुर गुरुङले कुनै पनि मुद्दामा उन्मुक्ति पाउने अवस्था नआउने उनको भनाइ छ ।

‘एमालेले केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ । तपाईँहरु सबैलाई थाहा छ, त्यो जग्गा हामीलाई व्यवसायी मीनबहादुर गुरुङजीले प्रदान गर्नुभएको छ । यसका लागि नेकपा (एमाले) ले उहाँलाई धन्यवाद व्यक्त गरेको छ । हामीलाई कसैले दिन्छ भने हामी स्वीकार र्छौं, हाम्रो स्वीकार गर्ने नीति छ । मान्छेले के काम गर्छ, अदालतमा मुद्दा छ कि के छ त्यो विषय उहाँले जान्ने कुरा हो । हामीसँग जे भएको छ, त्यसबापत छुट पाउने भए भोलि देख्नु होला नि । अदालत छ, कानुन छ, कानुनअनुसार हुन्छ । हामीले गरेकै कारण मीनबहादुरजीको काम भएको जस्तो प्रचार नगरौं,’– उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *