राजनीति

सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिको प्रतिवेदनले रवि लामिछानेको मुद्दा कमजोर बनायोः नेता बिडारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्य बहादुर थापा क्षेत्री नेतृत्वको संसदीय विशेष समितिको प्रतिवेदनले मुद्दा कमजोर बनाएको र जनतालाई समेत दुई भागमा विभाजित गरिदिएको बताएका हुन् । संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई उनले ‘नालायक प्रतिवेदन’ को संज्ञा दिए ।

‘कारबाही गर्नुपर्छ भन्ने एकथरी, खबरदार कारबाही गर्न हुँदैन भन्ने अर्कोथरी । यसको मुख्य कारण चाहीँ संसदीय समितिको प्रतिवेदन हो । संसदीय समितिको प्रतिवेदनले नै नेपाली जनतालाई दुई भागमा लगाइदियो । यो जम्मै गडबड भएको, मुद्दा कमजोर भएको संसदीय समितिको प्रतिवेदनले हो । संसदीय समितिले छानविन गर्न सक्दैन र हुँदैन भनेर मैले डे वानदेखि भन्दै आएको थिए ।’ उनले भने, ‘दोहोरो अर्थ लाग्ने गरी प्रतिवेदन दिने । रविले केही पनि गरेको छैन है सहकारीमा पनि उसैले लेख्ने, अनि रविलाई कारबाही गर्नुपर्छ है भनेर पनि उसैले लेख्ने । योजस्ता नालायक प्रतिवेदन संसदीय इतिहासमा कहिले पनि आउँदैन । यसको कारणले गर्दा जनता भ्रममा परे ।’

नेता बिडारीले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेजस्तो सहकारी ठगलाई बोकेको टिप्पणी गरे । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहकारी ठगहरुलाई बोकिरहेको उनको दाबी छ । नेता बिडारीले ठग र अपराधी वरिपरी नराखी प्रधानमन्त्री बन्नै नसकिने अवस्था आइपरेको बताए ।

‘प्रधानमन्त्री जो–जो भए, ती–ती प्रधानमन्त्रीलाई ठग र अपराधी नभइ नहुने रहेछ । ठग र अपराधी वरिपरी नराखी प्रधानमन्त्री टिक्न सक्दो रहेनछ । कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई, कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई । अहिलेको प्रधानमन्त्रीलाई को–को ठग र अपराधी चाहिएको छ ?

तपाईँहरुले अघि नाम भनिसक्नुभयो । ती–ती ठगलाई राखेर शासन चलाउने । यहाँभन्दा अगाडिका प्रधानमन्त्रीलाई रवि ठग चाहिएको थियो,’– उनले भने ।संसदीय छानविन विशेष समितिको प्रतिवेदनले राजनीतिक मोलतोल गरेको नेता बिडारीको दाबी छ । रवि सत्तामा रहुन्जेल उनलाई मुद्दा नलागेको स्मरण गराउँदै उनले धनराजलगायतलाई पनि यो सरकार रहुन्जेल मुद्दा नलाग्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *