काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाबैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।
सोही विषयमा छलफल गर्न बिहीबार शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।
छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।
शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयक सदनबाट पारित भइ राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसकेको छ ।




