काठमाडौं । अमेरिकी र इराकी सेनाले संयुक्त रुपमा पश्चिमी इराकमा इस्लामिक स्टेट-आईएसविरुद्ध कारबाही थालेका छन् । दुबै पक्षको संयुक्त आक्रमणमा कम्तीमा १५ जना आईएस लडाकू मारिएको ‘एएपपी’ ले जनाएको हो ।
अमेरिकी र इराकी सैनिकहरूले अन्बार मरुभूमिमा कारबाही गरेका हुन् । इराक र सिरियामा कमजोर बनेको इस्लामिक स्टेटविरुद्ध आक्रमण गरिएको हो ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले उक्त आक्रमणमा कुनै पनि नागरिक हताहत नभएको स्पष्ट पार्दै आईएसको क्षमता कमजोर बनाउने उद्देश्य रहेको जनाएको छ ।
त्यस्तै, इराकी सेनाले आफ्नो विज्ञप्तिमार्फत् हवाई हमलामा आईएसका केन्द्रहरुलाई निशाना बनाइएको जनाएको छ ।
मारिएकाहरुमा आईएसका प्रमुख नेताहरूसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कारबाहीमा आईएसको हतियार भण्डारसमेत नष्ट गरिएको र महत्वपूर्ण कागजात, परिचयपत्र र सञ्चार उपकरण बरामद गरिएको समेत इराकी सेनाले बताएको छ ।
आईएसविरुद्ध लड्न अमेरिकाको नेतृत्वमा ८० भन्दा बढी देशको गठबन्धन बनेको छ । गठबन्धनको कारबाहीपछि आईएसले सन् २०१७ मा इराक र सन् २०१९ मा सिरियामा नियन्त्रण गुमाएको थियो।




