देश

भीड व्यवस्थापन सुधार गर्न संघीय अस्पतालको प्रगति विवरण सार्वजनिक

काठमाडौंं।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन्।

अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा संघीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्।

बाँकी संघीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौं), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौं) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौं)को प्रगति विवरणमा सार्वजनिक गरिएको छ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौंडा तनहुँ), डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौं) को विवरण सार्वजनिक गरिएको हो।

संघीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरूसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो। निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरूलाई पत्राचार गरेको थियो।

अस्पतालहरूले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस), बहिरङ्ग (ओपिडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएका अस्पतालहरुको विवरणमा उल्लेख छ।

साथै अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्थालगायत विभिन्न योजनाहरू समावेश छन्। गुनासो व्यवस्थापनका लागि सहायता कक्ष र गुनासो बक्सको व्यवस्थापन गरिएका छन्। यी प्रयासले भीड व्यवस्थापनमा सहजता थपेको अस्पतालको विवरणमा उल्लेख गरिएको छ।

औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ। सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ। बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो मन्त्रालय सम्हाल्नुअघि नै देखेको हो। लामो समयदेखिको यो समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पनि प्रयास गरिरहेका थिए। स्वास्थ्य सेवालाई नागरिकमैत्री र सहज बनाउन हामीले प्रयास थालेका छौं।’

आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा सरकार सदैव अस्पताल तथा सरोकार भएकासँग सहकार्य र समन्वय गर्न तयार रहेको उनले बताए।

शुक्ररराजमा स्वास्थ्य बीमाबाट ९० प्रतिशत बढी औषधी
अहिले संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा सेवा थालेका छन् । संघीय राजधानी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ ।
परोपकारमा अपरेशन अवधि १ घण्टा बढाइयो
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा एक ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञानमा विस्तारित सेवा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा २४ सै घण्टा आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ ।
मनमोहनमा १ महिनाभित्रै शल्यक्रिया, अनलाइनबाट ल्याब रिपोर्ट
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।
कान्तिमा शैय्या थप प्रक्रिया शुरु
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।

पाटनमा बिदामा पनि शल्यक्रिया र ओपीडी
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ ।
अन्य अस्पतालहरुको सेवामा उल्लेख्य सुधार
वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ । अस्पपतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ । बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ,वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *