विश्व

पहिलो त्रैमासिकमा र्‍यान एयरको मुनाफामा करिब आधा गिरावट

कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ ।

र्‍यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ ।

भाडा समायोजनपछि यात्रुको सङ्ख्या भने १० प्रतिशतले बढेर पाँच करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको र्‍यान एयर विमान कम्पनीले जनाएको छ ।

एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ ।

र्‍यान एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ ।

“दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,” प्रमुख कार्यकारी माइकल ओ लेरीले भन्नुभयो ।

उहाँले थप्नुभयो, “र्‍यान एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको सङ्ख्या आठ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *