देश

उच्च जोखिमको सुचना जारी भएको दिन रात्रिकालीन सवारीमा प्रतिबन्ध, चुम्बकीय विधीमार्फत पनि त्रिशूलीमा खसेको बसको खोजीकार्य असंभव

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएको दिन निर्धारित जिल्लाहरुमा रात्रिकालीन सवारी संचालनमा रोक लगाइने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा शुक्रबार बसेको बैठकले बाढी पहिरो जन्य प्राकृतिक प्रकोप र दुर्घटनाबाट सयौँले अकालमा ज्यान गुमाउनु परेपछि उक्त घटनाहरु न्युनीकरणका लागि यस्तो निर्णय गरिएको हो ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालका अनुसार जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तोकिएको दिनमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउनुपर्नेछ ।

यसअघि पनि गृहले बर्षायामभरि रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएपछि कार्यान्वयन हुन सकेको थिए । त्यसैगरी लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ ।

पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको भूसालले जानकारी दिए ।

सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको भूसालको भनाइ छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरो बगाउँदा त्रिशूली नदिमा खसेको थियो ।

अहिलेसम्म दुवै बसको खोजीकार्यलाई तिव्रताका साथ हेरिएपनि पत्ता लगाउन सकिएको छैन । दुर्घटनमा परि नदिमा खसेर हराएको बसको चुम्बकको माध्यमबाट खोजी गर्दा समेत बस फेला पर्न सकेको छैन् । बसमा कति यात्रु सवार थिए भन्ने समेत आधिकारिक रुपमा खुल्न सकेको छैन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीको टोलीले उक्तबस खसेको केही बेरमै खोजी कार्यमा सक्रियता देखाएका थिए । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले जानकारी दिए ।

सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ । बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको छ । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको समेत प्रहरी जानकारी गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *