काठमाडौं । नेकपा एमालेले सत्तामा समीकरण परिवर्तन हुने ढुक्क भएपछि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले सोमबार बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि बागमती प्रदेशमा मुख्यमन्त्री सालिकराम जमरकट्टेलले राजीनामा नदिने तर विश्वासको मतका लागि केन्द्रीय निर्देशन अनुसार अगाडी बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने बताएपछि बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेले पनि केन्द्रीय निर्देशन अनुसार नै पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।
सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामाको पक्षमा नरहेको र चाँडोभन्दा चाँडो विश्वासको मत लिने जानकारी दिए । सरकारमा सहभागी दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग विश्वासको मतको विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।
उनले एमालेसँगको सहकार्यमा आफूलाई सहयोग गर्ने सबै मन्त्रीलाईलाई धन्यवाद समेत दिए । बागमती प्रदेश सरकारमा ११० सांसद छन् । प्रदेश सरकारमा सात दल आबद्ध छन् । सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेससँग ३७ जना, एमालेका २७ जना सांसद रहेका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत लिन बहुमतका लागि ५६ जना आवश्यक पर्छ ।
एमाले र काँग्रेसको जम्मा सांसदको सङ्ख्या ६४ जना मात्र छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको १२ सिट छ तर सरकारमा छैन । नेकपा माओवादी केन्द्रको २० सीट, नेकपा एसको ७, हाम्रो नेपाली पार्टीको २ जना छन् । माओवादी सरकारलाई हाल समर्थन सङ्ख्या २८ मात्र हुन्छ । हाम्रो नेपाली पार्टीको एक जना सदस्यले जमरकट्टेल सरकारलाई विश्वासको मत दिएको थिएन भने नेमकिपाको ३ जना पनि मौन बसेका थिए ।
एमाले संसदीय दलका नेता तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सरकार अल्पमतमा परेको भन्दै दूरगामी असर पार्ने निर्णय नगर्न मुख्यमन्त्री जम्कट्टेललाई आग्रह समेत गरेका छन् ।




