काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओको बैठकमा गाजाका अस्पतालहरुमा इजरायली सेनाले गरेको आक्रमणप्रति ३० राष्ट्रले आपत्ति जनाएका छन् । जेनेभामा बसेको डब्लूएचओको बैठकमा ३० मुलुकले आपत्ति जनाउँदै गाजामा निम्तिएको स्वास्थ्य संकटमा इजरायलको भूमिकाबारे थप छानबिन गर्न माग गरेका हुन् ।
संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीलाई गाजामा विपत्तिजनक मानवीय संकटको दस्तावेजीकरण र भोकमरीबारे रिपोर्ट गर्न आदेश दिने डब्ल्यूएचओको प्रस्तावलाई ३० राष्ट्रले समर्थन गरेका हुन् । जसमा रुस, टर्की र चीनले यसको पक्षमा बोलेका छन् । उक्त प्रस्ताव पारित गर्न आज मतदान हुनेछ ।
बैठकमा टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले गाजाका अस्पताललाई निशाना बनाएर उपचार सुविधालाई नष्ट गर्नुको अर्थ इजरायलले स्वास्थ्यको मौलिक अधिकारविरुद्ध पनि युद्ध गरिरहेको आरोप लगाए ।
त्यस्तै प्यालेस्टाइनका राजदूत इब्राहिम खरैशीले देशलाई डब्लूएचओको प्रस्तावलाई समर्थन गर्न आग्रह गरे ।
त्यस्तै इजरायलकी राजदूत मीराभ एलोन सहरले हमासले जानीजानी बिरामीको सुरक्षालाई जोखिममा राखेको आरोप लगाइन् । इजरायले हालै रफाहमा पुनः सुरु गरेको आक्रमणले अधिकांश स्वास्थ्य संस्थालाई ध्वस्त पारेको, बिरामीले स्वास्थ्य उपचारमा कठिनाइ भोगेको र नाकाबाट भित्रिने स्वास्थ्य सामाग्रीलाई रोक लगाएकोप्रति पनि ३० राष्ट्रले आपत्ती जनाएका छन् ।




