काठमाडौं । अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । सिनेटका वरिष्ठ डेमोक्याट सांसद शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका हुन् ।
सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन जसको आधारमा हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र थियो भनेर भन्न सकिन्छ। उत्तर–पश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो । यो दुर्घटना जस्तै देखिन्छ । तर यस दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुर्घटनाबारे जानकारी दिइएको छ । आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको थियो । इरानी राष्ट्रपति रइसीको खोजीमा खोज अभियान चलिरहेको छ । उक्त क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ ।
समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रइसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो । विश्वभरका नेताहरूले इरानी राष्ट्रपति इब्राहिम रायसीको सुरक्षाको लागि प्रार्थना गरेका छन् । अमेरिकाले इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाको खबरलाई नियालिरहेको जनाएको छ । इरानको विदेश मन्त्रालयले राष्ट्रपति रइसीको सुरक्षाका लागि विश्वभर प्रार्थना गर्नेहरूलाई धन्यवाद दिएको छ ।




