मुख्य समाचार

आजदेखि महराको बयान लिइँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण महरासँग आजदेखि बयान लिइने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो ।

सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको हो ।

महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर बुधबारदेखि अनुसन्धान अगाडि बढाइने सीआईबीका एक अधिकारीले बताए । ‘यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ, त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ’, उनले भने ।

सीआईबीले अदालतमा महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरिसककेको छ ।

सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले चार दिनको म्याद दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *