काठमाडौं । सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने नेपाल प्रहरीका वरिष्ठ हवल्दार सोनेलाल यादवको पद चैट हुने भएको छ । स्वास्थ्य संस्थाको स्तरोन्नतिको विषयमा विवाद हुँदा भएको झडपमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। यादवले माथिको आदेशविनै गोली चलाएको खुलेको छ ।
बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनेको थियो। समितिले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा हवल्दार यादवले आफूखुसी गोली चलाएका कारण घटना भएको उल्लेख छ।
गोलीकाण्डलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको थियो । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई पनि त्यहाँबाट फिर्ता बोलाउन समितिले सिफारिस गरेको छ।




