राजनीति

जनताले खोजेको नीति तथा कार्यक्रम ल्याएर सरकार सञ्चालन गर्न आवश्यक: प्रदीप पौडेल

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आम मानिसले कांग्रेस कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कसरी अगाडि बढ्छ भनेर चासो र चिन्ता रहेको भन्दै जनताले खोजेको नीति तथा कार्यक्रम ल्याएर सरकार सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले कांग्रेस मासबेस कि क्याडरबेस पार्टी हो ? सदस्य छानेर सदस्य बनाउने पार्टी कसरी मासबेस भयो ? भनी प्रश्नसमेत गरे ।

नेता पौडेलले अब कांग्रेसका सबै सदस्यले भोट हालेर नेतृत्वसहित पदाधिकारी चयन गर्न आवश्यक रहेकोमा जोड दिए ।

यति भएमात्र गुट अन्त्य हुने उनको दाबी छ । उनले उम्मेदवार चयन तत् स्थानकै कार्यकर्ताले छान्नुपर्नेमा पनि जोड दिए । नेतृत्वले उम्मेद्वार छान्दा समस्या आएकोतर्फ ध्यानाकर्षण गराउँदै नेता पौडेलले कांग्रेस पनि कम्युनिस्ट जस्तै बन्दा जनता निराश भएको बताए ।

उनले कांग्रेसले काम गर्दा कमजोरी भएमा कमजोरी स्वीकार गर्दा कांग्रेसको ओझ नघट्ने स्पष्ट पार्दै देशले कांग्रेस खोजिरहेको भन्दै देश र पार्टीलाई नेतृत्वबाट योगदान हुनुपर्ने सुझाव दिए ।

नेता पौडेलले सत्ताका लागि सबै कुरामा सम्झौता स्वीकार नगर्न पनि नेतृत्वलाई आग्रह गरेका छन् । उनले भने, ‘जनताका सवालमा काम गरौँ । ८४ को चिन्ता नगरौँ । पार्टीले नेता र मन्त्रीले के के काम गर्ने हो त्यसको रोडम्याप बनाउनुपर्छ ।’

उनले कांग्रेसले तोकेको काम गरेन भने समर्थन फिर्ता लिन्छु भन्न सक्नुपर्नेमा पनि नेतृत्वको ध्यानाकर्षण गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *