काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको कार्य प्रगतिबारे असन्तुष्टि जनाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रुमबाट सडकखण्डको निरीक्षण गर्दै भनेजस्तो जस्तो गरी अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले थपे, ‘गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो । फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’
उनले अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘तोकिएको समयमा नै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन । यी दुई प्रजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’
उनले यी परियोजना अन्तिम अवसर भएको बताउँदै भने, ‘सबैले एकपटक अवसर लिऔं । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन । राष्ट्रिय गौरवका योजनामा काम दुर्ई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ ।’




