विश्व

मायावतीले आफ्नै भतिजलाई बनाइन् उत्तराधिकारी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री एवं बहुजन समाज पार्टी (बसपा) प्रमुख मायावतीले आफ्नो पार्टीको उत्तराधिकारी घोषणा गरेकी छन् ।

आइतबार मायावतीले आफ्ना भतिज आकाश आनन्दले अब पार्टीको नेतृत्व गर्ने घोषणा गरेकी हुन् । ६७ बर्षिय मायावतीले पार्टीका सबै राष्ट्रिय पदाधिकारी र प्रदेशका प्रमुख पदाधिकारीको बैठकमा सो निर्णय गर्दै आफ्नो भतिजालाई आफ्नो उत्तराधिकारी घोषणा गरेकी थिइन् ।

मायावतीका भतिजा आकाश आनन्दले लण्डनबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) पढेका छन् । आकाश सन् २०१७ मा राजनीतिमा प्रवेश गरेका थिए । सहारनपुरको र्‍यालीमा आकाश पहिलो पटक मायावतीसँग स्टेजमा देखा परेका थिए ।

मायावतीले सन् २०१७ मा ठूलो र्‍याली गरेर आकाश आनन्दलाई राजनीतिमा ल्याउने घोषणा गरेकी थिइन् । यसअघि आकाशले पार्टीको राष्ट्रिय संयोजकको जिम्मेवारी सम्हालेका थिए । अहिले मायावतीले उनलाई आफ्नो उत्तराधिकारी घोषणा गरेकी छन् ।

बहुजन समाज पार्टीले आफ्नो हराएको समर्थन पुनः प्राप्त गर्न नयाँ रणनिति अनुसार अब नेतृत्व परिवर्तन गरिएको विश्लेषण गरिएको छ । नयाँ योजनामा विभिन्न फेरबदल गर्न र पार्टीमा निष्क्रिय भएका नेताहरुलाई बदल्न पनि निर्देशन दिइएको छ ।

लामो समयदेखि बहुजन समाज पार्टीमा विभिन्न पदमा बसेका एक वरिष्ठ नेताले २०१२ देखि पार्टीको ग्राफ लगातार ओरालो लागेको बताउँछन् । यो अवधिमा पार्टीले धेरै रणनीतिक परिवर्तन र धेरै प्रयोग गरेको उनको भनाइ छ । तर धेरैजसो प्रयोगहरू असफल साबित भएका थिए ।

मायावतीले चार पटक भारतको सबैभनदा ठुलो राज्य उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । पछिल्लो पटक २००७ मा बसपाले उत्तर प्रदेशमा पूर्ण बहुमत साथ सरकार बनाएको थियो र मायावती २००७ देखि २०१२ सम्म मुख्यमन्त्री बनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *