मुख्य समाचार

असफलता कुनै विकल्प होइन– कोप २८ प्रमुखको चेतावनी

दुबई । संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप– २८) का अमिराती प्रमुखले आइतबार जीवाश्म इन्धनको सम्झौतामा उत्पन्न मतभेदहरू शीघ्र समाधान गर्नका लागि मुलुकहरूलाई दबाब बढाएका छन् । उनले सम्झौतामा ‘असफलताको कुनै विकल्प नभएको’ चेतावनी समेत दिए ।

कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेरले वार्तामा करिब दुई सय मुलुकहरूसँग ‘लचकता देखाउन, तत्काल काम गर्न र साझा आधार खोज्न’ आग्रह गरे । “मस्यौदा सम्झौताको वार्तामा भएको प्रगतिको अभाव वा मेरो महत्त्वाकांक्षालाई कमजोर बनाउनु कुनै विकल्प थिएन”, उनले पत्रकारहरूसँग भने, “असफलता कुनै विकल्प होइन, हामी जे चाहन्छौँ त्यो साझा भलाइका लागि हो, हामी जे चाहन्छौँ त्यो प्रत्येक स्थान र हरेकका लागि सर्वोत्तम हितमा छ ।”

जाबेरले एउटा ‘मजलिस’ मा भएको छलफलअघि सो कुरा बताएका हुन् । मजलिस एउटा परम्परागत अमिराती सभा हो । मजलिसमा मानिसहरू एउटा घेरामा बस्छन् र मतभेदहरू समाधान गर्ने प्रयास गर्छन् । जाबेरले एउटा सम्झौता खोज्ने प्रयासमा मजलिसको आयोजना गरेका थिए ।

प्रमुख तेल उत्पादक साउदी अरब र कोइलामाथि अत्यधिक निर्भर मुलुक भारतलाई कोप–२८ मा जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्ने सम्झौतामा मुख्य अवरोधका रूपमा लिइएको छ । “हामीलाई कोइलासहित जीवाश्म इन्धनमाथि साझा सहमति र आधार खोज्न आवश्यक छ”, जाबेरले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *