बागमती प्रदेश

काठमाडौंमा महानगरपालिकामा पहिलो दिन ९७ वटा कुकुरको स्थायी बन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा बस्ने कुकुरबाट नागरिकले अत्यधिक सास्ती पाएपछि बन्ध्याकरण अभियान शुरु गरेको छ । कुकुर काठमाडौंको प्रमुख समस्यामध्येमा पर्ने भएकाले यस्ता कुकुरको संख्या बढ्न नदिन महानगरले कुकुर स्थायी बन्ध्याकरण सुरु गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।सडकका कुकुरले धेरैलाई आतंतिक पार्ने गरेका छन् । विशेषगरी राति हिँड्नुपर्ने पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन चालकलाई कुकुरले दुःख दिने गरेपछि महानगरले बन्ध्याकरण अभियान सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाको कार्यपालिकामा कुकुरले दिने समस्याको बारेमा बहस जारी नै रहेको छ । १ साउन २०७९ को नगरसभामा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौंका कुकुर मार्नुपर्ने अभिव्यक्ति दिएपछि पशुअधिकारकर्मीहरुले मुद्दा दायर गरेका थिए । उक्त विषयमा खुल्ला छाडिएका कुकुर नियन्त्रण गर्नुपर्ने आशयका साथ आफूले त्यस्तो अभिव्यक्ती दिएका थिए ।

विशेषगरी काठमाडौं महानगरपालिकाभित्र विहान र बेलुकाको समयमा नागरिहरुलाई ठूलो डर पैदा गर्ने गरेको छ । बाटोमा हिँडिरहेको अवस्थामा कुकुरले टोकेमा कस्लाई गुनासो सुनाउने भन्ने विषय निकै गारो विषय बनेको छ । सडकमा बसेको कुकुरले टोकेपछि उपचारखर्च समेत आँफैले बेहोर्नुपर्छ ।

३२ नम्बर वडाध्यक्ष नवराज पराजुली, १५ नम्बर वडाध्यक्ष इश्वरमान डंगोललगायतले पनि यो विषय निरन्तर उठाउने गरेका छन् । महानगरले सञ्चालन गरेको कल सेन्टरमा गत आर्थिक वर्षमा कुकुरले दुःख दियो भनेर ५० भन्दा बढी गुनासो आएको महानगरले जनाएको छ ।

यस्तै प्रहरीलाई पनि सडकमा रहेका कुकुरको आतंक रोक्न धेरैको फोन सन्देश पुगेपछि महानगरले यो अभियानको सुरुवात गरेको काठमाडौंँ महानगर प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाभित्र खुल्ला छाडिएका कुकुरको संख्या भने अहिलेसम्म एकिन हुन नसकेको महानगरका कृषि तथा पशुपक्षी विभागका प्रमुख डा.अवधेश झा जानकारी दिए ।

काठमाडौंमा कुकुर आतंक रोक्न महानगरपालिकाले मंगलवारबाट बन्ध्याकरण सुरु गरेको हो । कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । पहिलो दिनमा ९७ वटा कुकुरको बन्ध्याकरण गरिएको समेत महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाले ९ वटा संस्थालाई कुकुर र बिरालोको बन्ध्याकरण गराउन जिम्मेवारीको थियो । तर अहिलेसम्म ५ वटा संस्थाले मात्रै बन्ध्याकरण गराउन सकेको पशुपन्छि विभाग प्रमुख झा को भनाइ छ । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर) ले २१ वटा ,पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपालले १५ वटा, मण्डला भेट हस्पिटलले ३० वटा, स्नेहाज केयरले १७ वटा, अक्सा नेपालले १४ वटा कुकुरको गरी ९७ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

जिम्मेवारी लिएका बत्तीसपुतली युवा समाज, एनिमल नेपाल, नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर र भेट फर योर पेट संस्थाले भने एउटा पनि बन्ध्याकरण गरेका छैन । काठमाडौं महानगरपालिकाले बन्ध्याकरण गरेबापत संघ संस्थालाई प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ दिने गरेको छ ।

खोप मात्र लगाएकोमा २ सय रुपैयाँ महानगरले वितरण गर्ने गरेको जनाइएको छ । डा. झाले भने ‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ,’ । पहिलो दिन बिरालोको बन्ध्याकरण नभएको महानगरले जनाएको छ । बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुर र बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *