काठमाडौ । चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले आयोजक मलेसियासँग ६ विकेटको हार बेहोरेको छ ।
नेपालले दिएको ८४ रनको लक्ष्य पछाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउदै ८३ रन बनाएको हो । बर्षाले प्रभावित भएको खेल २० ओभरबाट घटाएर १८ ओभरमा झारिएको थियो ।

यो हारपछि पनि नेपाल फाइनलमा भने पुगेको छ । नेपालको ३ खेलमा ४ अंक रहेको छ र रनरेटको आधारमा शिर्ष स्थानमा रहदै नेपाल फाइनलमा पुगेको छ । अब फाइनलमा नेपालको सामना हङकङसँग हुने भएको छ । हङकङको पनि ३ खेलमा ४ अंक नै रहेको छ र रनरेटको अधारमा दोस्रो हुदै फाइनलमा पुगेको छ ।
त्यस्तै ३ खेलमा ४ अंक नै रहेको मलेसिया रनरेटको आधारमा तेस्रो स्थानमा रहेपछि फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै तिनै खेलमा हार बेहोरेको कुवेत यसअघि नै फाइनलको दौडबाट बाहिरिएको थियो ।
अब शनिबार मलेसिया र कुवेतबीच तेस्रो स्थानका लागि तथा नेपाल र हङकङबीच फाइनल खेल हुने छ ।




