मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन ८ गते सोमबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ – गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कन हुन् कि भन्ने आशंका उब्जिएका बेला उनले दोषी देखिएका सबैलाई कानुनी कारबाही गरिने बताए ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ । इटालीको राजधानी रोममा सोमबार आयोजित संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड इटालीमा रहँदा खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका थिए ।

पार्टीको नेतृत्व बदल्ने प्रयास गरिरहन्छु– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन ब्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले बोल्न बन्द गरेर मौन ब्रत राख्दैमा पार्टीको सबै समस्या हल नहुँने भन्दै त्यसले दुर्घटनातिर लाने बताएका हुन् ।

उनले भने,बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ ।’ अहिले गठबन्धको नेता नेपाली कांग्रस नै भएको दावी गर्दै उनले भने,‘प्रधानमन्त्री आउने जाने क्रम चल्छ । त्यसको नेता नेपाली कांग्रेस हो । हामीले बनाएको गठबन्धन हो । ईमान्दारीतापूर्वक हामीले सहभागीता जनाएका छौं । हाम्रा सर्तहरु छन् त्यो रहनु पर्छ।’

महामन्त्री थापाले पार्टी भित्र प्रजातान्त्रिक अभ्यास गर्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै संसदीय दलको नेता परिवर्तनको अधिकार पार्टीको विधान र संसदीय विधानले दिएको प्रष्ट पारे । महामन्त्री थापाले गठबन्धनले गरेका कतिपय निर्णय भोलिपल्ट सञ्चार माध्यम हेरेर मात्र थाहा पाउँदा आफुलाई गठबन्धनको लिड गर्ने पार्टीको महामन्त्री हुँ भन्दा लज्जाबोध हुने गरेको बताए ।

उनले भने ‘ धेरै निर्णय थाहा नदिइ गरिन्छ, किन यस्तो, मैले आफ्नो धारणा विचार राख्थे हुँला, मेरै विचार सही हुनुपर्छ म भन्दिन तर गठबन्धनको निर्णयलाई स्वामित्व लिने अवसर त दिनु पर्यो नि । म एउटा गुटको भएकोले बरु मलाई केही थाहा हुन्छ तर कुनै पनि गुटमा नभएकोले अर्को महामन्त्रीलाई त त्यो पनि थाहा हुन्न । ’

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताए ।

सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताए ।

‘भ्रातृ संस्थामा अराजक गतिविधि भए पार्टीबाट निष्कासित गरिन्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रातृ संगठनका कार्यकर्तालाई अराजक गतिविधि गरे सदस्यता खोसेर निष्कासन गर्ने चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले भ्रातृ संस्थाका गतिविधिका कारण देशभरको कांग्रेस बदनाम हुने अवस्था सह्य नहुने बताए ।

उनले भने, ‘भ्रातृ संस्थाका कतिपय गतिविधिले देशैभरको कांग्रेस आलोचित छ । एकठाउँमा कालोमोसो लगाउँदा अर्को ठाउँमा कांग्रेस बदनाम हुन्छ, त्यसकारण कालोमोसो लगाउने वा अराजक गतिविधि गर्नेको तत्काल सदस्यता खारेज गरी निष्कासन गरिन्छ । सबैले ध्यान दिएर सुन्नुहोला ।’ उनले अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनीत नगर्न प्रस्ताव पनि गरेका छन् ।

संसदीय दलको बैठक बोलाउन कांग्रेस सांसद शर्माको लिखित निवेदन

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले संसदीय दलको बैठक बोलाउन लिखित माग गरेका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै उनले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।

मोरङ ३ बाट निर्वाचित सांसद शर्माले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएको भन्दै अविलम्ब बैठक बोलाउन वाञ्छनीय देखिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसअघि सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा पनि शर्माले राजनीति नेतृत्वको संरक्षणबिना सुन तस्करी नहुने भन्दै अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए । विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा कांग्रेसमा डा।शेखर कोइराला निकट मानिन्छन् ।

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको निवेदनमा न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतले कोशी सरकार गठन विवादमा संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएको भन्दै मुद्दा सर्वोच्चकै पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

कोश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका हुन् ।

ललिता निवास प्रकरण ः नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ

। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको एसएसपी आचार्यले बताए । यसै प्रकरणमा आइतबार नापी कार्यालयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

४० मेगावाट क्षमताको अपर चमेलियाको उद्घाटन

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताएका छन् । उनका अनुसार रु आठ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।

डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस

इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको भन्दै जागिरबाट हटाउन सोमबार गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयबाट आगामी दिनमा कुनै सेवामा आबद्ध हुन नपाउनेगरि अयोग्य पत्र पेस भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरी स्रोतकाअनुसार गृहमन्त्रालयले अहिलेसम्म ठोस निर्णय निकालेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *