काठमाडौँ । सेनेगलका ३१ बर्षिय फरवार्ड साडियो माने पनि साउदी प्रो लिगमा जाने भएका छन् ।
हाल बायर्न म्युनिखमा रहेका माने प्रशिक्षण थोमस टुचेलको प्राथमिकतामा नपरेपछि साउदी क्लब अल नासरमा जाने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
गत बर्ष लिभरपुल छोडेर बायर्न गएका मानेको जर्मनीमा त्यति राम्रो प्रदर्शन हुन सकेन भने उनी विवादमा पनि रहेका थिए । सहकर्मी खेलाडीलाई मुक्का हानेको विषयमा उनको आलोचना भएको थियो ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार माने सैद्दान्तिक रुपमा क्रिस्टियानो रोनाल्डो खेल्ने क्लब अल नासरमा जान सहमत भएका छन् । अल नासरले मानेका लागि बायर्नलाई ३० मिलियन युरो तिर्न तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अल नासरले यस सिजनमा सेको फोफाना र मार्सेलो ब्रोजोभिकलाई भित्र्याइसकेको छ ।
बायर्नले मानेलाई बेचेर ह्यारी केनलाई भित्र्याउने तयारी गरेको बताइएको छ । मानेलाई बायर्नले गत बर्ष लिभरपुलबाट ४१ मिलियन युरोमा किनेको थियो । तर मानेको बायर्नमा प्रदर्शन भने औसत नै रहेको थियो । उनले बायर्नका लागि कुल ३८ खेलमा केवल १२ गोल गरेका थिए ।




