विश्व

वाग्नर प्रमुख भन्छन्- अब युक्रेनमा लड्न आवश्यक छैन

काठमाडौँ । रुसको निजी सेना वाग्नरका प्रमुख येभगेनी प्रिगोगिन पुटिनविरुद्ध विद्रोह गरेपछि पहिलो पटक देखा परेका छन् । प्रिगोगिनले एक भिडियो जारी गर्दै अब युक्रेनमा रुसका लागि युद्ध नलड्ने बताएका छन् । उनले बेलारुसमा आफ्ना लडाकुहरूलाई स्वागत गर्दै वाग्नरले अब युक्रेन युद्धमा भाग नलिने बताएका छन् । उनले आफ्ना मानिसहरूलाई अफ्रिकाको नयाँ यात्रा सुरु गर्न आदेश दिएका छन् ।

प्रिगोजिनले भिडियोमा भनेका छन्– ‘हामीले युक्रेनमा सम्मानका साथ लड्यौं । तपाईं सबैले रूसको लागि धेरै गर्नुभयो । युक्रेनमा अहिले के भइरहेको छ त्यो लज्जास्पद छ र हामीले यसमा संलग्न हुन आवश्यक छैन । हामी यो युद्धमा फर्कन सक्छौं, तर अहिलेको लागि हामी केही समय बेलारुसमा बस्नेछौं र त्यसपछि हामी यहाँको सेनालाई विश्वको दोस्रो शक्तिशाली बनाउने छौं ।’

वाग्नरको गठनमा संलग्न उतकीनले यो वाग्नरको अन्त्य नभएको बताउदै नयाँ कामको शुरुवात भएको बताएका छन् । उनले भनेका छन्- ‘यो अन्त होइन । यो संसारको सबैभन्दा ठूलो कामको शुरुवात हो, जुन छिट्टै पूरा हुनेछ ।’

भिडियोमा, प्रिगोगिनलाई कालो वाग्नर झण्डा दिइएको छ जसमा उनको आदर्श वाक्य रगत, सम्मान, मातृभूमि र साहस लेखिएको छ । प्रिगोगिनको यो भिडियो उनको प्रेस सेवाले टेलिग्राममा पनि शेयर गरेको छ ।

केही दिनअघि युक्रेन र पोल्याण्डले वाग्नरका लडाकुहरू बेलारुस पुगेको दाबी गरेका थिए । उनले राजधानी मिन्स्कको दक्षिणपूर्वी क्षेत्रमा सेनालाई सैन्य तालिम दिइरहेका छन् । बेलारुस पुगेको केही दिनपछि राष्ट्रपति लुकासेन्कोले प्रिगोगिनले आफ्नो देश छोडेको बताएका थिए ।

वाग्नर प्रमुख मस्को वा सेन्ट पीटर्सबर्गमा भएको अनुमान गरिएको थियो । यसपछि प्रिगोगिन र पुटिनबीच विद्रोहपछि २ पटक भेट भएको मिडिया रिपोर्टमा दाबी गरिएको थियो ।

जुन २३ मा वाग्नर समूहले रूसविरुद्ध विद्रोहको घोषणा गरेको थियो । वाग्नरको सेना युक्रेनको शिविर छोडेर रुसी सीमामा प्रवेश गरेको थियो । उनले रोस्तोभ शहर र सैन्य मुख्यालय कब्जा गरेको थियो । प्रिगोगीनले त्यतिबेला भनेका थिए- ‘हामी मर्नदेखि डराउँदैनौं ।’ उनले वाग्नर लडाकुहरूले रूसी सेनाका धेरै हेलिकप्टरहरू खसालेको समेत दाबी गरेका थिए ।

यद्यपि, यस विद्रोहको २४ घण्टा भित्र, प्रिगोगिनले मस्कोतर्फको आफ्नो यात्रा रोकेका थिए । बेलारुसका राष्ट्रपति लुकासेन्कोले पुटिन र प्रिगोगिनबीच भएको सम्झौतालाई मध्यस्थता गरेका थिए । यस अन्तर्गत प्रिगोगिनलाई रूस छोडेर बेलारुस जान आदेश दिइएको थियो । बदलामा उनले वाग्नर प्रमुखविरुद्ध कुनै कारबाही नगर्ने वाचा गरेका थिए । यसपछि प्रिगोगिन २७ जुनमा बेलारुस पुगेका थिए ।

विद्रोहमा संलग्न नभएका वाग्नर प्रमुखका लडाकुहरूलाई रूसी रक्षा मन्त्रालयसँग एउटा सम्झौतामा हस्ताक्षर गर्न भनेको थियो, जसअन्तर्गत उनीहरूले मन्त्रालयको आदेशअनुसार काम गर्ने उल्लेख थियो । कति वाग्नर लडाकुले यस सम्झौतामा हस्ताक्षर गरे भन्ने अहिले स्पष्ट छैन ।

रोयटर्सका अनुसार युक्रेनको बाख्मुटमा रहेको निजी सेनाको तालिम शिविरमा मिसाइल आक्रमण भएपछि रुस र वाग्नरबीचको विवाद सुरु भएको थियो । यस आक्रमणमा धेरै वाग्नर लडाकुहरू मारिएका थिए । प्रिगोगिनले यसको लागि रुसको सैनिक नेतृत्वलाई दोष दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *