मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष १० मुख्य समाचार

असार १७ गते आइतबार : संकल्प खबरले विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार

ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।
उक्त प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८० बहुमतले पारित

काठमाडौं । आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

कर्मचारी र वकिलको आन्दोलनले आइतबार देशभरी न्यायप्रणाली नै ठप्प
आइतबार कर्मचारी र वकिलहरुको आन्दोलनले देशभरीको न्याय प्रणाली ठप्प बन्न पुगेको छ । आन्दोलनको कारण न्याय प्रणाली ठप्प हुँदा नागरिकहरुले पाउने सेवा प्रभावित भएको हो ।

गत असार १३ गते ललितपुर जिल्ला अदालतमा काम गर्ने कर्मचारी प्रेमिका तामाङमाथि कानुन व्यावसायि अमिर लामिछानेले मुक्का प्रहार गरि शरिरको भागमा निलडामा पार्नुका साथै शरिमा धारण गरेको वस्त्र नै च्यातिदिएपछि पिडित नासु प्रेमिका तामाङमाथि न्यायको माग गदैं चार कर्मचारी संगठनले आइतबार १०ः०० बजेबाट १ः३० सम्म देशभरका अदालतमा कार्यरत कर्मचारीहरुले कामकार्बाही स्थिगित गरे । त्यसपछि दिउँसो २ः३० बजेबाट कानुन व्यवसायीहरुले आइतबार साढे दुई बजेपछि देशभरका अदालतमा बहस नगर्ने घोषणा गरेपछि अदालतमा बहस प्रभावित भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा उल्लेख गरे ।
बालुवाटार पुग्यो काठमाडौं महानगरीय प्रहरी टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो ।

महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन दुई दिनको निर्देशन दिएको छ । यदि तोकिएको समयसम्म अनधिकृत बनेका टहरा र अस्थायी टहरा नहटाए महानगरपालिका भत्काउन बाध्य हुने समेत महानगरले चेतानवनी दिएको छ ।

सिके राउतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्तामा जनमत पाटीलाई सरकारलाई सहभागिता गराउने विषयमा भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् ।
कांग्रेसको निर्णय : कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
सरकारको कामप्रति प्रचण्ड र माधव नै दुई कित्तामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वको सरकारले उत्कृष्ट काम गरिरहेको दाबी गरिरहेका छन् । कतिसम्म भने उनले प्रतिनिधिसभा बैठकमै सरकारको कामले डिस्टिङ्सन पाउनुपर्ने दाबी गरेका छन् । तर सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीप्रति असन्तुष्ट देखिएका छन् ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपाका नेताहरू नै प्रचण्ड सरकारका कामप्रति सन्तुष्ट छैनन् ।
भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ स् प्रधानमन्त्री प्रचण्ड

’प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीब्रता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘भ्रष्टाचार देशको बिकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने ।
१९ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक

चितवन।पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ। गएराति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।

चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलाको पुलमा पहिरो खसेको थियो। बिहीबारदेखि उक्त स्थानमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *