काठमाडौं । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । समानुपातिक बजेट वितरण नगरेर पक्षपात गरेर बजेट विनियोजन गरेको भन्दै मंगलबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटीले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटीले सरकारका मन्त्री भएका जिल्लाहरुमा अन्य क्षेत्रमा भन्दा बढी बजेट विनियोजन गरेको भन्दै समावेशी रुपमा बजेट विनियोजन गर्नुपर्ने माग राखेका छन् ।
बागमती सरकारले वजेट सार्वजनिक गरेको १२ दिनमा छलफलका लागि बसेको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष दलका जगनाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमालेसांसदहरुले सांसद बैठक अवरुद्ध गरेका हुन् । बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१को बजेट गत असार १ गते सार्वजनक गरेको थियो ।
प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने प्रतिपक्षको भनाइ रहेको छ ।
बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन् ।
मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौंमा वडा नै नभएको स्थानमा कसरी बजेट विनियोजन भयो भन्दै आपति जनाएपछि ७ बजे अगाडीसम्मलाई प्रदेशसभा बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।




