काठमाडौं । स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनी समकालीन विश्व फुटबलका चर्चित खेलाडीमध्ये एक थिए । उनले ४१ वर्षको उमेरमा खेलजीवनबाट सन्न्यास घोषणा गरेका हुन् ।
पछिल्लो समय उनी इटालियन सिरिए क्लब एसी मिलानबाट ब्यवसायीक फुटबल खेल्थे । उनी सन् २०२० मा एसी मिलानमा आबद्ध भएका थिए । उनले सन् २००१ देखि लगातार २२ वर्ष स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेले ।
‘मैले सक्रिय खेलजीवनबाट विदा लिएको हुँ तर, तपाइँहरुसँग होइन,’ मैदानमा समेत साथीहरुसँग रमाइलो गर्न रुचाउने ब्यवहारका कारण सधैं चर्चामा रहने इब्राहिमोभिचले आइतबार राति सान सिरोमा उपस्थित हजारौं समर्थकलाई सम्बोधन गर्दै भने ।
यसअघि नै इब्राहिमोभिचले आफूले एसी मिलान छाडन लागेको बताएका थिए । ब्यवसायीक खेलजीवनमा उनले विभिन्न क्लबका लागि पाँच सय ११ गोल गरेका छन् । एसी मिलानका अतिरिक्त उनले अर्को इटालियन क्लब इन्टर मिलानबाट पनि खेलेका थिए ।
यसैगरी उनले स्पेनिस क्लब बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।
इब्राहिमोभिचले विभिन्न चार राष्ट्रको ब्यवसायीक लिगमा घरेलु प्रतियोगिताको उपाधि जितेका छन् । ‘मैले आफ्नो जीवनको अमुल्य समय फुटबल मैदानमा बिताएको छु । त्यसैले फुटबल मैदान र समर्थकहरु मेरो जीवनको अभिन्न अंक बनिसकेका छन्,’ सन्न्यास घोषणा गर्दा निकै भावुक देखिएका इब्राहिमोभिचले भने ।




