काठमाडौं । अब अस्पतालहरूले जथाभावी स्वास्थ्य उपकरण किन्न नपाउने भएका छन् । स्थान र जनशक्ति नभए पनि स्वास्थ्य उपकरण किन्ने अस्पताललाई स्पष्टीकरण सोध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चेतावनी दिएका छन् ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री बस्नेतले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने स्पष्ट पारे । उनले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामान स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यक्ताअनुसार अरु अस्पतालहरुमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि जानकारी दिए ।
ब
बस्नेतले कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गरिने उल्लेख गरे ।
प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने, स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न र सबै संघीय अस्पतालको उपकरण जाँच गर्ने उनको भनाइ छ । भएका उपकरणहरुले काम गर्दागर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही गरिने चेतावनी पनि मन्त्री बस्नेतले दिए ।
‘‘स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने । दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यक्ता अनुसार अरु अस्पतालहरुमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने कतिपय अस्पतालहरुमा खरिद प्रक्रिया आवश्यकता भन्दा बढी गरेको देखियो, विधि र प्रक्रिया बाँकी छन्, खरिद प्रक्रियामा जथाभावी किन हुन्छ भन्नेकुरा थाहा छँदैछ, थाहा भएर नै यो गरिएको छ,’ उनले भने, ‘अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औंल्याएकाअनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने । प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने ।
सो अनुसार आवश्यक पर्ने उपकरण मात्रै खरिद गरिनेछ । सबै अस्पतालमा अनलाइनमा ओपिडी सेवा लिने व्यवस्था १५ दिनभित्र मिलाउने, साथै प्रादेशिक अस्पतालहरुमा पनि सोही नियम लागू गर्ने ।’मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताए ।




