देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना हिरासतमा

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी क्रियाकलापमा संलग्न संगठित गिरोह अहिले प्रहरीको हिरासतमा रहेका छन् ।

अहिले सम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ परसंगै सो क्रियाकलापमा संलग्न आरोपितको संख्या १६ पुगेको हो ।

सो प्रकरणमा यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसमेत १४ जना पक्राउ परेपश्चात प्रहरीको हिरासतमा छन् ।
यस्तै नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि पक्राउ पश्चात प्रहरीको हिरासतमा छन् ।

यसैगरी प्रकरणमा सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परेका छन्। अहिले उनीहरुविरुद्ध अनुसन्धान प्रक्रिया नसकिएका कारण अदालतको अनुमति पश्चात म्याद थपगरी प्रहरी हिरासतमा राखिएको छ ।

सोही प्रकरणमा प्रकरणमा उपाध्यक्ष रामबहादुर थापा बादलले भने आँफू निर्दोष रहेको बताउँदै आएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्युतमणि नेउपानेले उनीहरूको आज बयान सक्ने तयारी रहेको बताएका छन् । नेउपानेका अनुसार आउँदो मंगलबारसम्म अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ ले अनुसन्धानका लागि पटकपटक गरी ६० दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ । सोही कारण अदालतमा मंगलबारसम्म नै मुद्दा दायर गर्नु पर्नेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता सिताराम रिजाल मुद्दा दायर गर्नुपर्ने दिन नजिकै आइसके पनि, अनुसन्धान टुँगो लागि नसकेको बताउँछन् । पक्राउ परेकाको बयान लिने काम गरिरहेको, केही फरार रहेको र सम्बन्धित अन्य अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *