काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा परि गम्भीर घाइते भएकालाई काठमाडौँ ल्याइएको छ । क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले दिएको जानकारी अनुसार गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं लाइएको र अन्य दुई जना सामान्य घाइते भएकाको उपचार खाँदीबारीमा नै भइरहेको छ ।
दुर्घटनामा ५ जना घाइते घाइते भएका छन् । घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ रहेका छन् ।
उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।
घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए ।




