काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याजीपीडितलाई भेट्ने भएका छन् । मिटरब्याजपीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेपछि प्रधानमन्त्रीले भेट्न लागेका हुन् ।
पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल रहेको वार्ता समिति गठन गरिएको छ । वार्ता समितिलाई मिटरब्याजपीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।
पीडितहरूसँग वार्ता समितिले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आजै पीडितहरूसँग भेट गर्ने कार्यक्रम छ। तर भेटघाटको समय भने तय भएको छैन।समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ।




